तिहार यता राजधानीमा लोडसेडिङ हटेपछि करिब १६ अर्ब मूल्य बराबरको इन्धन बचत भएकोे व्यवसायीहरुले बताएका छन्। उर्जामन्त्री जनार्दन शर्माले मन्त्रालयमा आयोजना गरेको ‘उर्जा खपत तथा व्यवस्थापन’ विषयेक छलफलमा सहभागी व्यवसायीहरुले लोडसेडिङको अन्त्यले इन्धन बचत भएको बताएका हुन्।
लोडेडिङ हटेपछि ठूलो राहत मिलेको भन्दै उद्योगी–व्यवसायीहरुले खुशी व्यक्त गरेका थिए। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले लोडसेडिङको अन्त्य गरिएपछि राजधानीमा मात्र १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको बताए। उनले यो अभियानलाई जारी राख्न महासंघले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले तत्कालका लागि उर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सकिनेमा विश्वस्त रहेको बताए।
यस्तै, होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रबन्धकहरुले डिजेल खर्चमा कमी आई होटलहरुलाई ठुलो राहत पुगेको भन्दै सरकारलाई धन्यवाद दिएका थिए। उनीहरुले आवस्यक परेका बेला होटेलसँग भएको डिजेल जेनेरेटरमार्फत सरकारलाई विद्युत उपलब्ध गराउन तयार रहेको बताए।
हाउजिङ एसोसिएसनका प्रतिनिधिहरुले नेपाल सरकारलाई आवस्यक परेमा २५–३० मेगावाट सोलार विद्युत उत्पादन गर्न सकिने जानकारी दिएका थिए। यसका लागि अपार्टमेन्टका छतहरु उपलब्ध गराउन आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो।
नेपाल प्रहरीका प्रतिनिधिले विद्युत चोरीलाई पनि अन्य चोरीसरह सजायको कानुन बनाएमा प्रहरीले विद्युत चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैका सुझाब, सल्लाह तथा प्रतिबद्धताहरुप्रति आभार व्यक्त गर्दै ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न अपिल गरेका थिए। छलफल कार्यक्रमको निष्कर्ष पेश गर्दै उर्जामन्त्री शर्माले लोडसेडिङ घटाएपछि देशमा पैंसाको बचत हुनुका साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको दाबी गरे। जनताको निराशालाई आशामा बदल्ने कार्यमा उर्जा मन्त्रालय अहोरात्र लागिपरेको उनको भनाइ थियो।
मन्त्री शर्माले पिक आवरमा विद्युत भार कटौति गर्नेगरी आफू मातहतका कर्मचारीलाई निर्देशन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका थिए। उनले भने, ‘लोडसेडिङ अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्। तपाईंहरुको सहयोग र सद्भावबाट उत्साहित भएर नै हामीले लोडसेडिङ अन्त्यको योजना अघि बढाइरहेका छौं।’
0 comments:
Post a Comment