फेरी कन्चनपुरमा हात्ती आतंक जंगली हात्तीले कुल्चेर एकजना महिलाको मृत्यु

Loading...
भीमदत्तनगर, ३० असोज - जंगलीहात्तीको आक्रमणबाट कन्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ।

श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शंकरपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए।

जंगलको बाटोमा साइकलयात्रा गरिरहेका चौधरी दम्पतीलाई जंगलीहात्तीले लखेट्दा मृतकका श्रीमान् आशाराम साइकल छाडेर भाग्न सफल भएपनि श्रीमती सुन्दरीको भने हात्तीले कुल्चेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीको बथानबाट भाग्न सफल भएका आशारामले जंगलछेउकै गाउँ पुगेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीकाअनुसार घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय बेलौरी र शंकरपुर प्रहरीचौकीको टोली घटनास्थल पुगेको छ।

विगत तीन सातायता कन्चनपुरका विभिन्न क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कका जंगलीहात्तीले आतंक नै मच्चाउँदै आएका छन् । करिब ३५/४० ओटाको बथानमा रहेको हात्तीको समूहले कन्चनपुरको करिब १५० बिगाहाको धानबाली नस्ट गरिसकेको छ। हात्तीपीडितले जिल्ला वन र शुक्लाफाँटा आरक्ष कार्यालयमा क्षतिपूर्तिका लागि उजुरीसमेत दिएका छन्।


हात्तीले बेलौरी, पुनर्वास, त्रिभुवनबस्ती, शंकरपुर र भीमदत्तनगरपालिकाका विभिन्न वडामा बढी क्षति पुर्‍याएका छन्। जंगलीहात्ती धपाउन स्थानीय प्रशासन र स्थानीयबासी जुटिरहेको तर नियन्त्रणमा ल्याउन सकिएको छैन।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment