 |
काठमाडौं , कात्तिक १०- लिभर सिरोसिस भएका व्यक्तिले रक्सी एक थोपा पनि खानु हुँदैन । मांसपेशी क्षय हुनबाट जोगाउन दिनहुँ व्यायाम गर्नुपर्छ । शरीर धेरै मोटो छ भने यसलाई घटाएर ठीक तौलमा राख्नुपर्छ । इन्फेक्सन (संक्रमण) हुने वा गराउने कारणबाट जोगिनुपर्छ । अन्य औषधि खाइरहेको भए सिरोसिसको उपचार गरिरहेका डाक्टरलाई यसबारे बताउनुपर्छ ।
कुपोषण सिरोसिस हुने मुख्य कारणमध्ये एक हो ।
त्यसैले सिरोसिस हुँदा सन्तुलित भोजन आवश्यक हुन्छ । तर, भुटेको वा तेलमा तारेको खानेकुुरा खानु हुँदैन । नुनिलो कुरा धेरै खानु हुँदैन । नुन एकदमै कम सेवन गर्नुपर्छ । किनकि, नुनले कलेजोलाई खराबै गर्छ । उखुको रस, नरिवलको रस, मेवा, काँक्रो, मुला, गाँजरजस्ता खानेकुराले कलेजोलाई अत्यन्त फाइदा हुन्छ । दूध, हरियो सागसब्जी आदिले पनि राम्रो गर्छ । पानी प्रशस्त पिउनुपर्छ ।
सिरोसिसका बिमारीलाई कदाचित दिमागको काममा समस्या उत्पन्न भएको महसुस हुन सक्छ । कलेजोले विषाक्त तत्वलाई हटाउन नसक्दा रगतसँगै त्यस्ता तत्व दिमागमा पुग्दा यस्तो हुन्छ । यसलाई इन्सेफालोपेथी भनिन्छ । यस्तो अवस्थामा ‘ल्याक्टुलोज सिरप’जस्ता औषधि दिइन्छ । रक्तदान गरिने रगत स्वस्थ हुनुपर्ने अनिवार्यताका कारण रक्तदानको वेला होसियारी गर्नुपर्छ, ताकि कलेजोका बिमारीबाट रक्तदान नहोस् ।
सिरोसिस भएका व्यक्तिले प्रोटिनयुक्त खानेकुरा कम र कार्बोहाइड्रेड बढी खानुपर्छ । एक किलोग्राम तौलबराबर एक ग्राम प्रोटिनको मात्रा लिने । जस्तो कि ६० किलोग्राम तौल भएको मानिसले ६० ग्राम प्रोटिन खाने । भिटामिनहरू विशेषगरी भिटामिन बी–कम्प्लेक्स लिने । बिहानको नास्तामा एउटा सुन्तला वा स्याउ, चोकरसहितको गहुँको पाउरोटी वा गहुँका सुक्खा रोटी, चिया वा कफी लिन सकिन्छ ।
दिनको खानामा कार्बोहाइड्रेडयुक्त खानेकुरा, हरिया तरकारी, सलाद, दूध, ताजा फलफूल आदि लिन सकिन्छ । अतिरिक्त खाजामा हल्का र चाँडै पाचन हुने खानेकुरा लिनुपर्छ । यसैगरी, साँझको खानामा बढी चिल्लो वा मसला नहालेका हल्का खाना लिनुपर्छ । नयाँ पत्रिकाले छापेको छ ।

0 comments:
Post a Comment