फेरी नेपाल माथी भारतको हस्तक्षेप : दसगजामा गुम्बा बनाउँदै भारत

Loading...
इलाम, ३ कात्तिक – भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फाटकको स्थानीय अगुवा बुद्ध तामाङले दिए।

गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङले रकम दिने आश्वासन दिएपछि गुम्बा बनाउन थालेको जानकारी स्थानीयले दिए । त्यसका लागि भारत सरकारका तर्फबाट गुरुङले भारु ६० लाख निकासा गराएको स्रोतको दाबी छ।

गुम्बा बनाउने विषयमा तीन महिनाअघि छलफल हुँदा नेपाली पक्षले दसगजाभित्र पर्ने भन्दै विरोध जनाएको थियो । अहिले भने गुम्बाआसपासका टहरा भत्काउन सुरु गरिएको छ । जीटीए प्रमुख गुरुङले भने, धार्मिक र पर्यटकीय कुरा हो । हामी काम रोक्दैनौं।

स्थानीयका अनुसार गुम्बा बनेपछि दुवै देशलाई फाइदा हुने भन्दै निर्माणको काम थालिएको छ । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले तीन महिनाअघि नेपाली पक्षको विरोधका कारण स्थगित गरिएको काम पुनः सुरु भएपछि नेपालतर्फका बासिन्दाले दसगजामा भइरहेको क्रियाकलाप रोक्न स्थानीय प्रशासनलाई अनुरोध गरेको बताए । उनले भने, संरचना हटाउने काम सुरु भएको छ । चाँडो चासो लिन स्थानीय प्रशासनलाई भनेका छौं।


पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय प्रमुख मोहनलाल पनेरूले तीन महिनाअघि नेपालको दबाबमा रोकिएको गुम्बा निर्माणको काम भारतले फेरि सुरु गर्न थालेको बताए । दसगजा क्षेत्र नो म्यान्स ल्यान्ड हो।

त्यहाँ कुनै देशले केही निर्माण गर्न र कुनै पनि गतिविधि गर्न पाउँदैन, उनले भने, तर भारतीय पक्षले बलमिच्याइँ गरी काम सुरु गरेको छ । पनेरूले जिल्ला प्रशासन कार्यालय इलामलाई औपचारिक रूपमा यसबारे जानकारी गराइसकेका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment